तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनुभएको छ ।
राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ । शक्तिका साथ प्रस्तुत हुन्छौ, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नुभयो, व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।
अर्थमन्त्री पौडेलले निर्दोष नपरून् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभागहरू र सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।
उहाँले चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरू र सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो ।
स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउन भन्दै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबिच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताउनुभयो ।
गृह सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारबाही गर्ने बताउनुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित रुपमा छलफल गरी अघि बढ्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नियमित रुपमा अनुगमन गर्नु पर्नु बताउनुभयो ।
अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निकायबाट प्रयास भइरहेको भन्दै चुहावटमा संलग्नहरूलाई कारबाही भइरहेको बताउनभयो ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताउनुभयो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्ला स्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button