बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

महोत्तरी । महोत्तरी पिपरा गाउँपालिका ५ बाट एक महिना अघि बेपत्ता भएको एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका ६५ मुसाफिर झा र उहाँकी पत्नी ६० बर्षीया गीता देवी झाको शव पिपरा गाउँपालिका २ स्थित अतरार र पिपरा जाने सडक खण्डमा गाडिएको अवस्थामा फेला परेको प्रदेश नं. २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । झा दम्पतीको शव दिउँसो १ बजे फेला परेको हो ।
पिपरा गाउँपालिका ५ सहोडबाका ६५ वर्षीय मुसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीता देवी झा गत फागुन १० गते राति देखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शवको निजको छोरा मनिष झाले सनाखत गरेको र शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाउने तयारी भइरहेको प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले बताउनुभयो । शवकोे झा दम्पतीहरुले लगाएको कपडा, पोते र चुराले पहिचान खुलेको हो ।

यसअघि दम्पतीको अपहरण गरी बेपत्ता बनाएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । घटनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिपरा गाउँपालिका ५ सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।
मृतक झा दम्पतीको सिवीआइको टोलीले समेत खोजतलास गरिएको थियो । झा दम्पती एक्कासि बेपत्ता भएपछि प्रहरीले महोत्तरीको ४० भन्दा बढी पोखरी र भारतमा समेत खोजी गरेको थियो । मृत फेला परेका मुसाफिर झा सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारी हुन् ।
पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्