झापामा रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणको तयारी अन्तिम चरणमा

झापा । जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको बताउनुभयो ।
बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा आज (विहीवार) प्रजिअ तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा त्यस्तो बताउनुभएको हो । रेल्वे प्रभावितहरुको माग र संघर्षप्रति लक्षित उहाँले केही समय धैर्य गर्न प्रभावितहरुलाई आग्रह गर्नुभयो ।
प्रभावितहरुको चित्त बुझ्ने गरी मुआब्जामा चलन–चल्तीको मूल्य दिन मूल्यांकन गरी प्रशासनले तयारी गरेको छ । ‘चलन–चल्तीको मूल्यभन्दा कम नहुने गरी मुआब्जा दिन मूल्यांकनको काम सकिएको छ’– प्रजिअ तिमिल्सिनाले भन्नुभयो– ‘त्यस बारे चैत अन्तिमसम्ममा निर्णय गरी ३५ दिने सूचना जारी गरेर प्रभावितको निवेदनका आधारमा मुआब्जा वितरण गरिनेछ ।’
झापा, मोरङ र सुनसरीमा एकैपटक मुआब्जा वितरण गर्ने बुझिएको छ । झापाको छ पालिकाका २५ वडामा मुआब्जा वितरण गरिने बताइएको छ । उक्त कार्यका लागि उपसमितिले आवश्यक सबै काम सम्पन्न गरेको प्रजिअ तिमिल्सिनाले बताए । स्रोतका अनुसार तीन जिल्लामा करिब १५ अर्ब रुपैयाँ मुआब्जामा खर्च हुनेछ ।
प्रजिअ तथा सुरक्षा प्रमुखहरुवीच कोभिड–१९को दोस्रो लहर र झापामा आवश्यक सुरक्षा सतर्कता अपनाउने, विपद्को पूर्वतयारी, लागूऔषध लगायत जिल्लाका विविध समस्यामा छलफल भएको थियो । विषयगत तथा सरोकार राख्ने विषयमा संवाद, छलफल र समन्वयको काम गरिदिन संवाद समूहलाई प्रजिअ तिमिल्सिनाले आग्रह समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्