सार्वजनिक ठाउँमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह

सल्यान। सार्वजनिक ठाउँमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै जान थालेका कारण जिल्लामा पनि सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आउँदै गरेको होली पर्व लगायतका चाडपर्वमा भिडभाड नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।
घर बाहिर निस्किदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउने तथा सामाजिक दुरी कायम गरी काम गर्न आग्रह गरिएको उहाँको भनाई छ । यदि मास्क नलगाएर हिडेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही समेत गरिने उहाँले बताउनुभयो ।
छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएका कारण जिल्लामा भित्रिने मुख्य नाका, कपुरकोट, कालिमाटी र बालुवा संग्रहीमा कडाई गरी उक्त नाकाहरुबाट भित्रिने व्यक्तिहरुको स्वास्थ्य परीक्षणको पनि छिट्टै व्यवस्था गरिने भएको छ । जिल्लामा कोभिड १९ संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी यस अघि सञ्चालनमा आएका क्वारेनटाइन तथा आइसोलेसन सञ्चालनको व्यवस्थापन गर्न पनि स्थानीय तहलाई अनुरोध गरिएको होमागाईको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्