‘गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्ने चाहना’

कञ्चनपुर । ‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुदैँन ’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहनुहुन्छ । सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुग्नुभएको छ ।
मेचीको काँकडभित्ताबाट ह्विलचेयर चढेर यात्रामा निस्कनुभएका गोले २६ दिन लगाएर यहाँ आइपुग्नुभएको हो । ‘स्पाइनल कर्ड इन्जुरी’९मेरुदण्डको पक्षाघात० भएका उहाँ भन्नुहुन्छ, “दृढ इच्छा शक्ति भए फरक क्षमता भएका व्यक्ति पनि सपाङ्गझैँ समाजमा काम गर्न सक्छन् भन्ने उद्देश्यसहित ह्विलचेयरको पहुँच बढाउनका लागि यात्राको थालनी गरेको छु ।”
लुम्बिनीदेखि भारतको बोधगया (बिहार) सम्मको करिब ५५० किलोमिटर लामो यात्रा र नमबुद्धदेखि ३६६ किमी ह्विलचेयरबाट उहाँले यात्रा पूरा गरिक्नुभएको छ । लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उहाँले बताउनुभयो । ती यात्राको त्यति प्रचार नगरेको उहाँ बताउनुहुन्छ । मेची महाकाली यात्रा गोलेको तेस्रो हो ।
दाताको सहयोगमा उहाँले यहाँसम्मको कठिन यात्रा पूरा गर्नुभएको हो । गोलेको बस दुर्घटनामा परी कम्मरमुनिको भाग चल्दैन । सोही दुर्घटनामा परेर उहाँले एउटा आँखा गुमाउनुभएको छ । उहाँ हिँड्ने भनेकै ह्विलचेयरले हो ।
ह्विलचेयरमा यहाँ आइपुग्नुभएका उहाँले स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा दौँतरी परामर्शदाताका रूपमा काम गर्दै आउनुभएको छ । बास्केटबल खेल्ने, स्वीमिङ गर्ने कार्यसँगै अपाङ्गता भएकालाई पुनःस्थापना केन्द्रमा तालीम दिने कार्य गर्दै आएको उहाँ बताउनुहुन्छ ।
अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ । भाग्यमानी ठान्छु । अपाङ्गता नभएको भए मैले जिन्दगी बुझ्ने थिइनहोला ।” विसं २०६७ पुस १८ गते साथीहरूसँगै खासा घुम्न गएको बेला दोलालघाटको चौबन्ने किलोमा बस दुर्घटनामा पर्दा गोले अपाङ्ग हुनुभएको हो ।
सबैभन्दा लामो ह्विलचेयर यात्रा गरेर गोले विश्व कीर्तिमान राख्न चाहनुहुन्छ । हाल ह्विलचेयरमा लामो दूरी पार गर्नेमा भारतका सुरेन्द्र यादव र शैलेन्द्र हसनको नाम गिनिजबुकमा कायम छ । दुवै जनाले २५० किलोमिटर यात्रा पूरा गरेर रेकर्ड राखेका हुन् । आज बिहान ८ बजे कञ्चनपुरको गड्डाचौकीमा यात्राको समापन गरिने उहाँले बताउनुभयो ।
यात्रामा उहाँसँगै उहाँका भतिजा मानबहादुर तामाङ सहयोगीका रूपमा सँगै रहेका छन् । मेची महाकाली यात्रामा निस्केका गोलेका श्रीमतीसँगै एक छोरा र एक छोरी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्