प्रभावमा आधारित मौसम पूर्वानुमान : पूर्वाभ्यासमा विज्ञ र साझेदार प्रतिनिधि

काठमाडौँ । जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ ।
भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने प्रभावसम्मको आकलन गरी अभ्यास गरेको थियो । अभ्यासमा भारी वर्षाको सम्भावनासहितको सूचना मौसम विज्ञान विभागबाट आयो ।
बागलुङ ढोरपाटनलाई केन्द्रविन्दु बनाएर भारी वर्षापछि के के अवस्था हुनसक्छ भन्ने कुराको परिदृश्यलाई एउटा म्याट्रिक्स र टेबलमा उतार्नुभयो । विज्ञका अनुसार जति छोटो अवधिको मौसम आकलन हुन्छ मिल्ने सम्भावना बढी हुन्छ भने जति लामो समयको आकलन हुन्छ त्यो औसत मिल्ने तह घट्दै जान्छ । सोहीअनुसार नै अभ्यास गरिएको थियो ।
शुरुमा १२ घण्टा, अर्को दिन २४ घण्टा र तेस्रो दिन ४८ घण्टा लगातार पानी पर्ने सम्भावना देखियो । तीन प्रकृतिको वर्षाले त्यो समाजमा कस्तो÷कस्तो असर पर्छ भन्ने कुरा समूहगत छलफलबाट निष्कर्ष निकाल्ने काम भयो ।
त्यसको अघिल्लो दिन परम्परागत मौसम सूचना प्रणाली र प्रभावमा आधारित मौसम सूचना प्रणालीको फरक अवस्थाबारे समूहगत छलफल र अभ्यास भएको थियो । आज तेस्रो दिन भने सबै अभ्यासलाई एकीकृत गरी प्रेस विज्ञप्ति जारी गर्दाको अवस्थासम्मको अभ्यास हुनेछ ।
उहाँहरु जस्तै फरक÷फरक छ वटा समूह पनि त्यसैगरी अभ्यासमा जुटेको थियो । प्रथमतः पूर्वानुमानका लागि मुख्य जिम्मेवार जल तथा मौसम विज्ञान विभाग नै हुने भएकाले हरेक समूहमा मौसमविद् सहभागी गराएर अभ्यास गरिएको हो ।
अभ्यासले नेपालमा नयाँ नमूनाका रूपमा प्रयोग हुन लागेको प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा सहज सिकाइ हुने विश्वास गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम बताउनुहुन्छ ।
उहाँले भर्चुअलमा सहभागी अन्तर्राष्ट्रिय विज्ञसँग प्रतिप्रश्न गर्दै विश्वको प्रयोग र नेपालमा लागू गर्न सकिने तरिकाका बारेमा जिज्ञासा राख्नुभएको थियो । बङ्गलादेश, बेलायत, युगान्डालगायत देशमा विगतमा धेरै जनधनको क्षति हुन्थ्यो तर यसरी प्रभावमा आधारित मौसम पूर्वानुमानले क्षति कम गराएको तथ्य प्रमाणित छ ।
उहाँले उक्त अभ्यासको निष्कर्ष भनेको सम्भावित घटना हुँदैछ भनेपछि त्यसको असरको सम्भावनाको तह, क्षति हुने समुदायमा कति गम्भीर असर पर्छ र क्षतिको क्षेत्र तथा गाम्भीर्यता आकलन गर्न सकिने बताउनुभयो । त्यसबाट समुदायमा क्षति कम गर्न सकिन्छ । उक्त प्रणालीले जोखिममा परेको क्षेत्र र समुदायले अब के गर्ने भन्ने सूचना र सुझावसमेत प्राप्त गर्ने भएकाले प्रभावकारी हुने विश्वास गरिएको छ ।
वरिष्ठ मौसमविद् पौडेलले घटना भएझैँ नै गरिएको अभ्यासले ठूलो सिकाइ भएको स्मरण गर्नुभयो । उहाँले त्यस्ता विपद्बाट आम समुदायले के तयारी गर्नुपर्छ, साझेदार संस्था कसरी पूर्वतयारीमा लाग्नुपर्छ भन्ने कुरा सँगसँगै जाने विश्वस व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाशचन्द्र ढुङ्गानाले प्रशिक्षणमा मौसम बदली भई भारी वर्षा हुने छ मात्रै नभएर त्यसको असर कुनै क्षेत्रमा कस्तो हुन्छ भन्नेसम्मको जानकारी प्राप्त भएकाले प्रभावमा आधारित मौसम सूचना प्रणाली अपनाउन सके मुलुकमा ठूलो क्षतिबाट जोगाउन सकिने महसुस भएको बताउनुभयो । यसलाई कार्यरत क्षेत्रमा लागू गर्ने आफ्नो प्रयास रहने उहाँको भनाइ थियो ।
नेपालका विभिन्न नौ जिल्लामा प्रभावमा आधारित मौसम पूर्वानुमानको नमूना कार्यक्रम शुरु हुन लागेको सन्दर्भमा पहिलो चरणको प्रशिक्षण काठमाडौँमा भएको हो ।
उक्त कार्यक्रम गत वर्ष बढी प्रभावित भएको जिल्ला स्याङ्जा, म्याग्दी, बागलुङ, दैलेख, कालीकोट, जाजरकोट, गोरखा, सिन्धुपाल्चोक र कास्कीमा लागू हुँदैछ । यही मनसुनबाट उक्त कार्यक्रम शुरु गर्ने योजना रहेको रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका टेक्निकल एड्भाइजर माधव उप्रेतीले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, युके मेट र रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरको संयुक्त आयोजनामा उक्त प्रशिक्षण शुरु भएको हो । पहिलो चरणको प्रशिक्षण सकिएपछि पुनः वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा प्रभावित क्षेत्रका व्यक्तिसमेत सहभागी गराएर प्रशिक्षण गर्ने योजना छ ।








प्रतिक्रिया राख्नुहोस्