तपाईँ सुन्दै हुनुहुन्छः

४० प्रतिशत अनुदानमा मेलम्चीका किसानलाई मल्टिक्राप्ट थ्रेसर मेशिन वितरण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका कृषि विकास शाखाबाट आज ४० प्रतिशत अनुदानमा मल्टिक्राप्ट थ्रेसर मेशिन वितरण गरिएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा वितरित १९ थान थ्रेसर मेशिन विशेष गरी गहुँ, धान र कोदो कुट्न प्रयोग गर्न सकिने कृषि शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
५८ हजार पर्ने थ्रेसर मेशिनलाई नगरपालिकाले ४० प्रतिशत अनुदानमा वितरण गर्दा ३४ हजार ८ सय पर्न गएको छ ।
यस अघि ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएकोमा यस पटक १० प्रतिशत कम अनुदानमा थ्रेसर वितरण गरिएको हो ।
यसै गरी बर्षेनी अनुदान प्रतिशत कम गर्दै लैजाने र अनुदान घटाएर सामाग्रीको सङ्ख्या बढाउँदै लैजाने नगरको लक्ष्य रहेको पनि आचार्यले बताउनुभयो ।
मेशिन वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले यसको ठिक ढङ्गले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
शतप्रतिशत अनुदानमा नगरले वितरण गर्दा त्यसको सही सदुपयोग तथा मर्मत सम्भार नभएको पाइएकोले कृषक स्वयंलाई पनि समावेश गरी अनुदान रकममा केही कटौती गर्नुपरेको पनि प्रमुख अर्यालले प्रस्ट्याउनुभयो ।
वितरण गरिएको मेशिन मल्टिक्राप भएकाले यसले निश्चित समयमा केही व्यक्तिलाई रोजगारी सिर्जना गर्ने पनि अर्यालले बताउनुभयो ।
समयको पनि बचत हुने  र बचत भएको समयमा थप उत्पादन बढोस् भन्ने उद्देश्यका साथ यस प्रकारको उपकरणहरू वितरण गरिएकाले यसको प्रभावकारितामा ध्यान दिन  प्रमुख अर्यालले किसानहरूलाई आग्रह गर्नुभयो ।
उक्त मल्टिक्राप थ्रेसर मेशिन सहकारी, समूह र व्यक्तिगत फर्म मार्फत किसानहरूलाई वितरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button