तिलोत्तमाले पायो उत्कृष्ट नगरपालिका पुरस्कार

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ ।
मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता सङ्गठन नेपाल नगरपालिका सङ्घले सो पुरस्कार प्रदान गरेको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा सहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेकोले त्यसको उच्च मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ ।
सङ्घले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।
तिलोत्तमासँगै आर्थिक तथा राजस्व प्रशासनतर्फ कनकाई नगरपालिका र सहरी योजना तथा वातावरण व्यवस्थापनतर्फ वालिङ नगरपालिका पनि पुरस्कृत भएका छन् ।

सङ्घले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभयो ।
संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्