तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दै पर्यटकीय रौनक : रारामा ८ महिनामा ४ हजारभन्दा बढी पर्यटक

रारा तालमा घुम्दै पर्यटक ।
जुम्ला । नेपालकै ठुलो तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटक चहलपहल बढ्दै गएको छ ।
रारा घुम्ने उत्तम समयका रुपमा मानिने चैत महिनाको सुरुवात भएसँगै रारामा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको ८ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताउनुभयो ।
उहाँका अनुसार ४ हजार ४ सय ९ जना पर्यटक मध्ये ७ जना विदेशी पर्यटक रहेका छन् । भने ४४ सय २ जना नेपाली पर्यटक रहेका छन् ।
नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले जानकारी दिनुभयो ।
रारा तालमा घुम्दै पर्यटक ।
उहाँले कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको उल्लेख गर्नुभयो । सूचना अधिकारी रोकायाले भन्नुभयो, “चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।”
साथै चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
विगतका तुलनामा बाह्यको पर्यटकको आगमन घटेपछि राजश्व सङ्कलन पनि घटेको निकुञ्जले जनाएको छ ।
रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ ।  नियमित २/३ उडान मुगु भर्ने भएकोले हवाई मार्गबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।
रारा तालमा पर्यटक बढ्न थालेपछि होटल कम भएकाले बास बस्न भने समस्या भएको पाइएको छ । रारा ताल आसपास भएका होटल भरिभराउ हुने र अधिकांश पर्यटकहरूलाई बस्ने बासको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो । ढिला पुग्ने, सम्पर्क गरेर नजाने पर्यटकहरू टेन्ट हालेरै भए पनि चौरमा बस्ने गरेको निकुञ्जका सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जब गरेर विशेष गरी काठमाडाँै, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् ।
रारा तालमा घुम्दै पर्यटक ।
पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा हवाई चाप बढेको छ । नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
पर्यटक बढेपछि उडान भर्न भ्याइ नभ्याई भएको तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताउनुभयो ।
रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकको समेत आम्दानी बढेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झयारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा स्थानीयले मनग्य कमाई गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button