तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट नेपाल आउनेको नेपालगन्ज नाकामा कोरोना जाँच शुरु

बाँके । छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ लहर शुरु भएपछि यति बेला नेपालमा उच्च सतर्कता अपनाइएको छ । भारतमा कोरोनाको नयाँ लहर शुरु भएसँगै विभिन्न प्रदेशमा कफ्र्यू तथा लकडाउन समेत लगाइएको छ । कोरोनाको दोस्रो लहर बढेपछि भारतका विभिन्न क्षेत्रमा रोजगारी, अध्ययन लगायतका लागि गएका नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् ।
यस्तो अवस्थामा नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेला, महोत्सव, सेमिनार र भिडभाड नगर्न आग्रह गरिसकेको छ । विशेष गरि भारतीय सीमासँग जोडिएका जिल्लामा कोरोना भाइरसको दोस्रो लहरको जोखिम उच्च देखिएको छ ।
यसअघि सुदूरपश्चिम क्षेत्रमा भारतबाट आएका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि अहिले सो क्षेत्रमा कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाइएको छ । यता बाँकेको नेपाल–भारत सीमा नाकामा समेत बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
भारतका केही शहरमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि नेपालगन्ज नाका हुँदै नेपाल भित्रिनेलाई आजदेखि स्वास्थ्य जाँच समेत सुरु गरिएको छ । भारतबाट नेपाल आउने सर्वसाधारणलाई सीमामै एन्टिजेन परीक्षण शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।
उहाँका अनुसार, भारतबाट आउने व्यक्तिको बुधवार देखि एन्टिजेन जाँच गरिने थालेको हो । ‘भारतमा नयाँ लहरको संक्रमण फैलिने क्रम बढ्दो छ । हामीले भारतबाट आउनेलाई नाकामा थर्मल गनले ज्वरो नाप्दैछौं’, चन्दले भने ‘ज्वरो देखिएका व्यक्तिको एन्टिजेन परीक्षण गरिने छ ।’ एन्टिजेन परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरस छ कि छैन पत्ता लाग्ने उनको दाबी छ ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा पुगेका नेपालीहरू त्यहाँ भाइरस सङ्क्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ । हिजोआज दैनिक ७ सय देखि एक हजार व्यक्तिहरू स्वदेश फर्किरहेका छन् । शङ्कास्पद व्यक्तिहरूलाई एन्टिजेन मार्फत कोरोना पुष्टि गरिने छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासँग एक हजार किट छ । महाशाखाले स्वास्थ्य कार्यालयलाई तीन हजार एन्टिजेन किट पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button