बीरगंज नाकाबाट निर्यात व्यापार बढ्दै, आयात घट्दै

बीरगंज । चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी आइसिपी भन्सारबाट भारत तथा तेस्रो मुलुकमा हुने गरेको निर्यात व्यापार बढ्दै गएको छ भने आयात घट्दै गएको छ ।
आइसिपी भन्सारबाट चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा ३ खर्ब ६ अर्ब रुपैयाँ मूल्य बराबरको मालसामान भित्रिएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को समीक्षा अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो ।
चालू आर्थिक वर्षको ८ महिनामा आइसिपी नाकाबाट आयात व्यापार करिब ४ प्रतिशतले बढेको छ ।
आयात व्यापार ११ अर्ब रुपैयाँले घट्दा भारत तथा तेस्रो मुलुकमा हुने गरेको निर्यात व्यापार भने करिब ३ अर्ब रुपैयाँले बढेको भन्सारले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा निर्यात व्यापारमा तुलनात्मक सुधार देखिएको र निकासी व्यापार १० प्रतिशतले बढेको प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनुभयो ।
अघिल्लो वर्ष आइसिपी भन्सार हुँदै २३ अर्ब रुपैयाँ बराबरको मालसामान भारत तथा तेस्रो मुलुक निकासी भएको थियो भने चालु आर्थिक वर्षको ८ महिनामा निर्यातकर्ताहरूले २६ अर्ब रुपैयाँको मालसामान भारत र तेस्रो मुलुकतर्फ निकासी गरेको आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्