तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा

काठमाडौँ । नेपाली सेनाले सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
एक नम्बर प्रदेश स्तरीय भूतपूर्व सैनिक सम्मेलनको पूर्वी पृतना इटहरीमा आज उद्घाटन गर्नुहुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाइने बताउनुभयो ।
उहाँले हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
प्रधान सेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिकहरूको अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्ने बताउनुभयो ।
आजै सम्पन्न सम्मेलनमा एक नम्बर प्रदेशका १४ वटा जिल्लाहरूमा बसोबास गर्ने ६ हजार ६ सय ४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक ९१ वर्षका सुन्दर हरैचा ५ निवासी सिपाही रत्न बहादुर पौडेल (अ.प्रा) र श्री फस्ट रैफल गण (तत्कालीन फस्ट रैफल गुल्म) बाट अवकाश प्राप्त स्वर्गीय नवथ सिंह कार्की (अ.प्रा.) को श्रीमती वर्ष ९४ की ज्येष्ठ एकल महिला श्रीमती मायादेवी कार्कीलाई सम्मान गरिएको थियो ।
यसै गरी सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल सङ्खुवासभा जिल्ला खाँदवारिका डम्वरु वल्लभ अधिकारी (अ.प्रा.) की श्रीमती हिमा अधिकारीलाई सम्मान गरिएको थियो ।
समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरूलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १६ जना आमा तथा बुवाहरूलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ८ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण गरिएको थियो ।
यस किसिमको सम्मेलनले सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button