तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र तिलाठी कोइलाडी विजयी

राजविराज । सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिनको सम्पन्न दुई वटा खेलमा बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित हात पारेका छन् ।
सप्तरीको राजविराज स्थित राज रंगशालामा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतका पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरे ।
बजाज खडक वारियर्सले दिइएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सके ।
लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए । त्यसै गरी सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र नीरज मुखिया खाता खोल्न सकेन ।
बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए । अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाए थिए ।
वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरी १ सय १३ रन बनाए । अनिलले अघिल्लो खेलमा बोदे बर्साइन थन्डर्स विरुद्ध पनि शतक बनाएका थिए ।
वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिङ गर्दै अविजित अर्ध शतक बनाए । उनले मात्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अनिल र विवेकले तेस्रो विकेटको लागि मात्र ५४ बलमा १ सय ३८ रनको साझेदारी गरेका थिए ।
रुपनि राइडर्सको बलिंगमा अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।
बुधवारको दिनको दोस्रो खेलमा दीपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्‍यो ।
टिभीएस किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठी कोइलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गरे ।
तिलाठी कोइलाडीको जितमा राशिद खानले अविजित २९ बलमा २ चौका र ८ छक्का प्रहार गरी ६५ रन बनाए । दिपेश कँडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । सन्तोष कार्कीले १८ रन बनाए । राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे ।
टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो ।
टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।
तिलाठी कोइलाडीको बलिंगमा राशिद खान र दिपेश कँडेलले समान ३ विकेट, कप्तान दीपेन्द्र ऐरीले २ विकेट तथा मनिष मण्डलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए ।
प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राइडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहीन बोदे बर्साइन थन्डर्स पाँचौँ स्थानमा रहेको छ ।
लिग अन्तर्गत बिहीबार पनि दुई खेल खेलिनेछन् । पहिलो खेलमा बिहान ९ बजे टिभीएस किंग्स राजविराज र रुपनी राइडर्स तथा दिउसो १ बजे सुरु हुने खेलमा बोदे बर्साइन थन्डर्स र तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button