उपचार पछि क्षयरोग निको हुने विज्ञको भनाई

जनकपुरधाम । “सङ्केत समयको क्षयरोगको अन्त्य” मूल नारा सहित प्रदेश नंं २ मा पनि विश्व क्षय रोग दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर आज मनाइएको छ ।
प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालय, सेभ द चिल्ड्रन, बागमती सेवा समाजको आयोजनामा भएको कार्यक्रममा क्षय रोगको नियन्त्रण तथा रोकथाममा निक्कै मेहनत सहित कामकाज गर्ने बागमती समाजका उर्वशी शाह तथा सिरहा जिल्लाको मिर्चैयामा कार्यरत रहेका कर्मचारी राम कुमार शर्मालाई दोसल्ला तथा कदर पत्र प्रदान गरेर सम्मान गरिएको छ ।
यसै गरी क्षयरोगले पीडित भएर नियमित रुपमा डट्स विधि मार्फत औषधिको सेवन गरेर रोगलाई पराजित गरेका दुई जनालाई सम्मानित गरिएको थियो । अहिले प्रदेश नंं २ मा मात्र १५ हजार २ सयको सङ्ख्यामा क्षयरोगका रोगी भए पनि उपचारमा ५ हजार ७ सय ५ जना मात्र आएका छन् ।
अहिले पनि उपचारमा ९ हजार ५ सय व्यक्ति नआएको प्रदेश नंं २ को क्षय कार्यक्रमका संयोजक राजेश झाले जानकारी दिनुभयो । क्षयरोगको उपचार पूर्ण रुपमा निःशुल्क भएको जानकारी दिँदै प्रदेशमा ४ सय ४८ डट्स केन्द्र, ३ वटा डि आर केन्द्र, माइक्रो स्कोपी १ सय १४, जीन एक्सपोर्ट केन्द्र १५, डि आर होष्टल १ रहेका छन् ।
क्षय रोगीको सबै भन्दा बढी सङ्ख्या बारामा ९ सय १६ जना सबै भन्दा कम सप्तरीमा ५ सय ६५ जना रहेका छन् । डट्समा उपचारमा आउनेको निको हुने दर ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३.२ प्रतिशत रहेका छन् ।
नेपालमा ६९ हजारको सङ्ख्यामा क्षयरोगका रोगी रहेको भए पनि ४५ हजार उपचारमा आएका छन् । नेपालमा क्षय रोग घट्ने दर ३ प्रतिशत रहेका छन् । जुन सार्क देशमा सबै भन्दा राम्रो रहेको छ । नेपाललाई सन् २०५० सम्ममा क्षय रोग विहीन मुलुक बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम गरिरहेको जानकारी कार्यक्रममा गरिएको छ ।
मुलुकका १० प्राणघातक रोग मध्ये क्षयरोग पनि एक रहेको छ । यसबाट ४७ जनाको दैनिक रुपमा नै मृत्यु हुने गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.नवल किशोर झाले जनकारी दिनुभएको छ । नङ र कपाल बाहेक सबै भागमा क्षय रोगको संक्रमण हुने उहाँले बताउनुभयो ।
प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले क्षय रोगलाई सामान्य रुपमा नलिनका लागि आग्रह गर्दै रोग लक्षण सहित लाग्छ भने कहिले काहीँ विना लक्षण पनि उपचारको क्रममा यकिन हुने गरेको बताउनुभयो । यस रोगको नियमित उपचार अन्तर्गत औषधि आएको खण्डमा पूर्ण रुपमा निको हुने भएकाले नियमित रुपमा औषधि सेवन गर्नका लागि रोगीलाई आग्रह निर्देशक झाले गर्नु भयो ।
कार्यक्रममा प्रादेशिक प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, बागमती सेवा समाजका अध्यक्ष भरत कार्की, नेपाल पत्रकार महासङ्घ धनुषाका कोषाध्यक्ष अबधेश कामत र सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. मुक्ति नारायण साहले क्षय रोगको उपचारका बारेमा जानकारी दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्