होली पर्व घर परिवारमा मात्र सीमित भई मनाउन आग्रह

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आपसी सद्भाव हर्ष र उल्लासको पर्वको रुपमा रहेको होली पर्वलाई घर परिवारमा मात्रै सीमित भई संयमित रुपमा मनाउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भारतलगायत अन्तर्राष्ट्रिय स्तरमै कोभिड–१९को पुनरावृत्ति भएको हुँदा आफ्नो घर परिवारमा बसी संयमित र नियन्त्रित भई होली खेल्न आग्रह गर्नु भएको छ ।
उहाँले भिडभाडजन्य कार्य नगर्न, सामाजिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग गर्न तथा जन– स्वास्थ्यका मापदण्डको पालना गर्न जिल्लावासी आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक पाण्डेले होली पर्वमा होटलहरुमा रक्सीको वितरणमा रोक लगाउने, सीमा क्षेत्रबाट हुने अनावश्यक आवत जावत बन्द गर्ने, होलीको नाममा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना गर्न आग्रह समेत गर्नु भएको छ ।
पर्वमा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गर्दै घरको झ्याल, छत, वरण्डा, आदिबाट रङ्ग, पानी, पिच्कारी तथा लोला प्रहार गर्नेलाई कारबाही गरिने चेतावनी दिनु भएको छ ।
त्यसै गरी सडक/बाटोमा हिँडिरहेका व्यक्ति उपर इच्छा विपरीत रङ्ग, अबिर दल्ने, मोबिल पेन्ट घस्ने कार्य गर्ने, पर्वको नाममा समुदायमा नकारात्मक असर पर्ने, शान्ति भङ्ग हुने खालका अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्ने बताउँदै प्रहरी उपरीक्षक पाण्डेले होली मनाउँदा कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहन र जिम्मेवार नागरिकको परिचय दिन पर्सा बासीलाई आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्