तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा मास्क नलगाई हिड्डुल गर्नेलाई कारबाही

बीरगंज । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले मास्क नलगाई हिड्डुल गर्नेलाई सङ्क्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले पर्सा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नारायणी अस्पताल लगायत पर्साका पोखरीया अस्पताल, जिल्लाको बगही, बागेश्वरी, भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा व्यवस्था गर्ने निर्णय गरेको छ ।

छिमेकी मित्र राष्ट्र भारतमा कोरोना संक्रमण बढ्दै गएपछि खुला सीमाको कारण त्यसको प्रभाव वीरगंज तथा पर्सा जिल्लामा पनि पर्ने हुँदा समयमै नियन्त्रणका लागि आवश्यक पहल गर्न अस्पतालको व्यवस्था गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

त्यसै गरी बैठकले हाल बन्द रहेको नेशनल मेडिकल कलेजको होटल बाबा इन्टरनेशल कोभिड अस्पताललाई सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने, सामुदायिक क्वारेनटाइन सेन्टरको रुपमा बीरगंज महानगरपालिकाले कलवार धर्मशाला, गोपाल मण्डलीलाई तत्काल व्यवस्थापन गर्ने, जिल्लाका अन्य स्थानीय तहले धर्मशाला तथा सामुदायिक भवनलाई क्वारेनटाइन तथा आइसोलेसन सेन्टरको रुपमा स्थापित गर्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको बैठकले नारायणी अस्पतालमा तत्काल १५ शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनमा शङ्कास्पद बिरामीको चेक जाँच तथा कोरोना परीक्षणको दर बढाउने, आवश्यक पिसिआर परीक्षणका लागि नारायणी अस्पतालले व्यवस्था गर्ने, जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कोभिड महामारी व्यवस्थापनका लागि तयारी हालतमा बस्न निर्देशन दिएको छ ।

यसै गरी बैठकले बारा पर्सा औद्योगिक करिडोरमा कार्यरत भारतीय मजदुरहरू घर गई नेपाल फर्किदा अनिवार्य रुपमा पिसिआर परीक्षण गराई नेगेटिभ रिपोर्ट आएका कामदारलाई मात्र काममा खटाउन आग्रह गर्दै अटेरी गर्ने उद्योग सञ्चालकलाई सङ्क्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

त्यसै गरी बैठकले वीरगंजमा सञ्चालित रात्रि कालिन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्ने, सीमा क्षेत्रबाट हुने गरेको अनधिकृत आवतजावतलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रण गर्ने, सीमा नाकामा सञ्चालित हेल्थ डेस्कमा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button