तपाईँ सुन्दै हुनुहुन्छः

रेड पाण्डाको छाला सहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालयमा अभियुक्त सार्वजनिक गर्दै प्रहरी, फोटो : सन्तोष राउत 
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सात वटा रेड पाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ वन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ २ बस्ने ७६ वर्षीय जगतबहादुर राई, वडा नम्बर ३ बस्ने ५७ वर्षीय मितुरधन राई र ३ नम्बर वडा बस्ने ५६ बर्षीय कविरशंखर राईलाई घरैबाट पक्राउ गरिएको हो ।
अभियुक्तहरूको साथबाट सात थान रेड पाण्डाको छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच थान पासो बरामद गरिएको हो । चैत्र ९ गते साँझको समयमा पक्राउ गरिएका निजहरूलाई कानुनी कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज पठाइने प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
उक्त अपराधमा सङ्गठित गिरोह संलग्न रहेको र निजहरूले चीन र बर्मासम्म रेड पाण्डाको छाला तस्कर गरेर पुर्‍याउने गरेको तथ्य फेला परेको डिएसपी कटवालको भनाई छ । अभियुक्तहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपियाँदेखि दश लाख रुपियाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button