तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वमा अनावश्यक भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गदै यस वर्षको होली पर्वमा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले कोरोना संक्रमण बढ्ने जोखिम कायमै रहेकाले होली पर्वमा अनावश्यक भिडभाड नगरी परिवारमा रहेर मनाउन सबैमा आग्रह गर्नुभयो ।
यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्नाले नेपाल फर्किनेको सङ्ख्या बढ्दै गएकाले प्रवेश विन्दुमा आवश्यक सुरक्षा अपनाउन तथा स्वास्थ्य सहायता कक्षलाई सक्रिय रुपमा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यसैबिच, आज काठमाडौँ उपत्यकामा ६३ सहित देशभर १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ६३ वटा नमुनाको परीक्षण गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।
यस्तै आज ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button