कञ्चनपुरमा रातिको समयमा आंशिक निषेधाज्ञा जारी
कञ्चनपुर । कञ्चनपुरमा रातिको समयमा लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ ।
भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको सङ्क्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको बताउनु भएको छ ।
नेपाल सरकार र प्रदेश स्वास्थ्य निर्देशनालयबाट जारी निर्देशनका आधारमा जिल्लामा तोकिए बमोजिमका केही कार्य गर्न गराउन निषेध गरिएको उहाँले जानकारी दिनु भएको छ ।
निषेधाज्ञामा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।
गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ । यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ ।
यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्