झापामा अहिलेसम्म ४५ हजारभन्दा बढीले कोभिड विरुद्धको खोप लगाए

झापा । झापामा अहिले सम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ ।
झापामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४ सय ५५ जना र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २ सय जनाले मात्र खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका ४ हजार ७ सय ४९जना, गौरादह नगरपालिकाका ४ हजार ६ सय ५३ जना, बिर्तामोड नगरपालिकाका ३ हजार ७ सय ७३ जना, कनकाई नगरपालिकाका ३ हजार ४ सय९९ जना, कमल गाउँपालिकाका ३ हजार २ सय ४८ जना र भद्रपुर नगरपालिकाका ३ हजार ७५ जनाले कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी मेचीनगर नगरपालिकाका २ हजार ८ सय ५४ जना, अर्जुनधारा नगरपालिकाका २ हजार ७ सय २३ जना, गौरीगञ्ज गाउँपालिकाका २ हजार ४ सय ५१ जना, कचनकबल गाउँपालिकाका २ हजार १ सय २३ ले, हल्दिबारी गाउँपालिकाका २ हजार १ जना, झापा गाउँपालिकाका१ हजार ८ सय २३ जना, बुद्धशान्ति गाउँपालिकाका १ हजार ७ सय ९ जना र बाह्रदशी गाउँपालिकामा १ हजार २ सय जनाले उक्त खोप लगाइसकेका छन् ।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ ।
पहिलो चरणमा कोभिड–१९ महामारीविरुद्ध अग्रपङ्क्ति खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए ।
त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्