तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा तीन वटा विओपी सञ्चालनमा

विराटनगर । मोरङको तीन स्थानमा आजबाट सशस्त्र प्रहरीवल सुरक्षापोष्ट विओपी सञ्चालनमा आएको छ । सिमाक्षेत्र अन्तर्गत  रङ्गेली नगरपालिकाको धनापटी, सुनवर्सी नगरपालिकाको सिक्टी  तथा रतुवामाई नगरपालिकाको र्मिचाडांगीमा  सुरक्षापोष्ट  सञ्चालनमा आएको हो ।
सुनवर्सीको सिक्टीमा आज  एक कार्यक्रमका बिच सशस्त्र प्रहरीवल प्रदेश न १ बराहा बाहिनी पकलीका गणपति एवं  सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी  वंशीराज दाहाल तथा सुनवर्सी नगरपालिकाका प्रमुख कालीप्रसाद दास तथा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले  तीनै वटै विओपी आजबाट सञ्चालन  शुभारम्भ गर्नुभयो ।
स्थानीय पालिका, संसद् विकास कोष तथा जनश्रमदानमा सो विओपी सञ्चालनमा आएको  हो  । सिक्टी  विओपी सञ्चालनका लागी संसंद विकास कोषवाट १० लाख तथा सो नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । समाजसेवी वाजुदिन आलम, मनताज आलम तथा कफिर आलमले विओपी स्थापनाका लागि  निःशुल्क रुपमा १० कठा जग्गा उपलब्ध गराउनु भएको छ ।
अस्थायी रुपमा सञ्चालनमा आएका तिन वटै विओपी आगामी वर्ष अगावै  नयाँ भवनमा  सञ्चालनमा आउने  डिआइजी दाहालले बताउनुभयो ।
नेपाल भारतको सिमाक्षेत्रमा नेपाल सरकारले गत वर्ष १ सय १४ वटा विओपी थपेर २ सय २१ वटा विओपी पुर्‍याउने लक्ष्य लिएको छ । लक्ष्य अनुसार प्रदेश न १ मा २२ वटा विओपी स्थापना गर्नुुपर्नेमा तीन वटा विओपी  सञ्चालनमा आएसँगै  लक्ष्य पुरा भएको छ  ।
यो सहित प्रदेशमा भारततर्फ  ५२  वटा चीनतर्फ दुइ वटा विओपी स्थापना  भएका छन् । त्यस्तै  मोरङ जिल्लामा ११ वटा विओपी स्थापना भएका छन् । दोस्रो र तेस्रो चरणमा गरी प्रदेशमा ७६ वटा विओपी थप स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ । त्यसका लागी स्थान छनौट भइरहेको छ । एउटा विओपीमा  सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा एक प्लाटुन अर्थात् ३५ जना सुरक्षाकर्मी रहने छन् भने कतिपय ठाउँमा आवश्यकता अनुसार ५० देखी ६० जना सम्म सशस्त्र प्रहरी रहेका छन्  । मोरङमा ६ किलोमिटरको फरकमा विओपी स्थापना गरिएको छ ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले तथा सशस्त्र प्रहरी बलका गणपति तथा सशत्र प्रहरी उपरीक्षक तिर्थ पौडेलले  पोष्ट स्थापना भएसँगै सिमाक्षेत्रमा शान्ति सुरक्षा सुदृढ बन्दै गएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button