कर्णाली प्रतिष्ठानमा विशेषज्ञ डाक्टर ‘एमडी’तहको अध्ययन सुरु
जुम्ला । पश्चिम नेपालमै स्वास्थ्य क्षेत्रको हबका रुपमा आफूलाई विकास गर्दै अघि बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा विशेषज्ञ डाक्टर (एमडी) तहको अध्ययन सुरु भएको छ । एमबिबिएस भन्दा एक तह माथिको विशेषज्ञ डाक्टर तहको अध्ययन कर्णालीमै पहिलो पटक शुरु भएको हो ।
लामो प्रयास पश्चात् गएको चैत १ गतेदेखि जुम्लामै (एमडी) तहको अध्ययन शुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा एमडी स्नातकोत्तर तहको लागि छुटाएको ५ वटा कोटा विद्यार्थी भर्ना भइसकेका थिए । जसमा जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा ३ जना र एनेस्थेसिया क्रिटिकल केयर तथा मेड्रियाट्रिकमा २ जनाको कोटा रहेको छ । पाँच वटै कोटामा नेपाल सरकारले पूर्ण छात्रवृत्ति दिएको छ ।
हाल तीन जना विद्यार्थी जुम्ला पुगेर अध्ययन थालिसकेका छन् भने बाँकी दुई जना विद्यार्थी आउने क्रममा रहेका छन् । सरकारको पूर्ण छात्रवृत्तिमा एमडी अध्ययन गरेपश्चात् डाक्टरहरूले सरकारले नै खटाएको क्षेत्रमा सेवा दिनुपर्ने प्रावधान रहेको रजिस्टार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
एमडी अध्ययनका लागि जुम्ला पुगेका डाक्टरहरूले अध्ययन पश्चात् कर्णालीमै सेवा गर्ने इच्छा रहेको बताएका छन् । कपिलवस्तुका डा.वेदकुमार चौधरी, भक्तपुरका डा. रहिस कोजु र दार्चुला डा. ललितसिंह धामीले जुम्ला जस्तो विकट ठाउँमा डाक्टरी पढ्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
२०६८ सालमा स्थापना भएको प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार ल्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्