शुक्लाफाटामा आन्तरिक पर्यटक बढ्दै, ५ महिनामा हजार बढी पर्यटकले भ्रमण गरे

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच महिनामा एक हजार बढी पर्यटकले भ्रमण गरेका छन् । कोरोना महामारीका कारण गएको चैत ११ गतदेखि घुमघामका लागि बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको कार्तिक १ गतेदेखि पर्यटकहरूका लागि खोलिए पछि फागुन मसान्त सम्म एक हजार आठ सय ३७ जना पर्यटकहरूले भ्रमण गरेका छन् ।
पर्यटन सिजन सुरु भयसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने पर्यटकमा पनि बढोत्तरी भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले कार्त्तिक देखि फागुन मसान्त सम्म शुक्लाफाँटाको भ्रमण गर्नेमा तीन जना विदेशी र चार जना सार्क राष्ट्रका नागरिक पनि रहेका बताउनुभएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा चैत ११ गतेसम्म एक हजार पाँच सय ७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । चालू आर्थिक वर्षको पाँच महिनामै गत वर्ष भन्दा बढी पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका छन् । कोरोनाका कारण पर्यटन क्षेत्र अत्यधिक प्रभावित भए पनि यो वर्ष शुक्लाफाँटामा पर्यटक आउने क्रम उत्साहजनक रहेको सहायक संरक्षण अधिकृत चौधरीले बताउनुभएको छ ।
एसियाकै ठुलो घाँसे मैदानमा बाहासिङ्गेको झुन्ड अवलोकनका लागि प्रख्यात शुक्लाफाँटामा तीन महिना पर्यटन सिजन मानिन्छ । फागुनदेखि वैशाखसम्म शुक्लाफाँटामा बढी पर्यटक आउने गरेका चौधरीले बताउनुभएको छ । सिजनको दुई महिना बाँकी रहेकाले पर्यटक सङ्ख्या अझै बढ्न सक्ने उहाँको भनाई छ । शुक्लाफाँटामा चैत, वैशाखमा अझ राम्रोसँग वन्यजन्तुको ‘साइटिङ’ हुने गर्दछ ।

शुक्लाफाँटामा बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुका साथै हात्ती, बाहासिङ्गे, कृष्णसार लगायतका वन्यजन्तु र रानी, शिकारी, कालीकिच, तारा ताल लगायतका सिमसार क्षेत्रको अवलोकन गर्न पाइन्छ ।









प्रतिक्रिया राख्नुहोस्