तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बान्नीगढीमा २ सय ५२ जना काम गर्दै

अछाम । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अछामको बान्नीगढी जयगढ गाउँपालिकामा २ सय ५२ जना न्यूनतम रोजगारीमा जोडिएका छन् ।

नेपाल सरकारले न्यून आय भएका व्यक्तिलाई न्यूनतम रोजगारीका माध्यमबाट सामाजिक सुरक्षामा जोड्ने कार्य अन्तर्गत गाउँपालिकामा २ सय ५२ जनाले काम गरिरहेका हुन् ।

गाउँपालिकाले गत बर्ष न्यूनतम रोजगारीका लागि गरेको आव्हानमा १२ सय जनाले आवेदन दिएका र कार्यक्रमको विभिन्न मापदण्डका आधारमा उनीहरूलाई छनौट गरिएको गाउँपालिकाका रोजगार संयोजक गणेश सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकाका विभिन्न वडामा २१ योजना छनोट गरेर न्यूनतम सय दिनको लागि कामको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बान्नीगढी जयगढ गाउँपालिकामा १ करोड ३० लाख २९ हजार रकम प्राप्त भएको रोजगार संयोजक सुनारले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सफल कार्यान्वयन सम्बन्धी १ दिने अभिमुखीकरण तथा शुभारम्भ कार्यक्रम समेत गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नं ३ बर्दादेवीका अध्यक्ष कुल बहादुर सेठ्ठीको अध्यक्षतामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले इमान्दार भएर काम गर्न अभिमुखीकरणमा सहभागी श्रमिकहरूलाई आग्रह गर्नुभयो ।

आफ्नै गाउँको विकास हुने र आफैले रोजगारी पाइने भएकाले काम प्रभावकारी रुपमा गर्नुपर्ने उहाँको भनाई छ ।   सोही अवसरमा कामदारलाई निर्माण सामग्री पनि प्रदान गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अछामका दश वटै स्थानीय तहमा विभिन्न काम भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button