४० वर्ष भारतको जेलमा बिताएर निर्दोष दुर्गाप्रसाद नेपाल आइपुगे

भद्रपुर, झापा । ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका वडा नं. १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आज झापा आइपुग्नुभएको छ ।
कोलकाता उच्च अदालतका न्यायाधीश ठोटविल बी राधाकृष्ण र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।
उहाँ झापाको काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आइपुग्नुभएको थियो ।
कोलकाताबाट शनिबार बेलुका बस चढेर सिलिगुडी हुँदै काँकडभिट्टा आइपुग्दा उहाँलाई विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरूले फूल माला र खादा लगाएर स्वागत गरेका थिए ।
काँकडभिट्टामा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उहाँले आफ्नो देश आउन पाएकोमा खुसी व्यक्त गर्दै आफू निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताउनुभयो । उहाँले आफ्नी आमालाई भेट्न आफू आतुर भएको पनि बताउनुभयो ।
अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६÷६ महिनामा उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन भनेको बताउँदै भाइ प्रकाशचन्द्रले उहाँको मुद्दाको अन्तिम फैसला नभइसकेको जानकारी दिनुभयो ।
दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका राधेश्याम दास नामका कैदीले दुर्गाप्रसादको अवस्था र पहिचान बारे पहिलो पल्ट जेलबाहिर खबर ल्याउनु भएको थियो ।
१९ वर्षकै उमेरमा घर छोडेर भारत पुगेपछि दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बस्नुभएको थियो, त्यही घरकी पत्नीको चिया बारीमा बीभत्स हत्या भएपछि त्यसको दोष उहाँमाथि थोपरिएको थियो । तर, प्रहरीमा झुटो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फलो अप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै उहाँलाई कारागार सार्दै दमदममा पुर्याइएको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्