तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या छ पुग्यो, दुई गम्भीर घाइते

लमजुङ । मनाङको नासों गाउँपालिका–४, खोत्रोमा ट्रक दुर्घट्ना हुँदा मृत्यु हुनेकोे संख्या छ पुगेको छ । शनिवार दुर्घट्ना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने पाँच जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारका लागि लमजुङ ल्याउदै गर्दा  दुई जनाको बाटोमै मृत्यु भएको हो भने एकजनाको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको मनाङका डीएसपी सुवास खड्काले बताउनुभयो । दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँकी ३५ वर्षीया मनिषा गुरुङ, उनका डेढ वर्षीय छोरा लियोन गुरुङ र ४ वर्षीय थियोन गुरुङको मृत्यु भएको हो । लियोनको घटनास्थलमै मृत्यु भएको थियो । थियोनको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा राती १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

निषाका बहिनी ३१ वर्षीया जलकाशी गुरुङको पनि घटनास्थलमै मृत्यु भएको थियो । उनका छोरा ६ वर्षीय नियोल गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

मनाङ ट्रक दुर्घटनामा गम्भीर घाइतेमध्ये दुई जनाको उपचारका लागि जिल्ला अस्पताल बेँसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको लमजुङका डीएसपी गंगाबहादुर थापाले बताउनुभयो । ट्रकका सहचालक मर्स्याङ्दी गाउँपालिका–५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको डीएसपी थापाले बताउनुभयो ।
त्यस्तै गम्भीर घाइते भएका तनहुँको भानु नगरपालिका–३ का चालक २४ वर्षीय सुमन तामाङ र ६ वर्षीय नियोलको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ ।  प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button