लागु औषध खैरो हेरोइनसहित ५ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ अस्थायी प्रहरी बिट दैजीबाट प्रहरी हवलदार गगन साउँदको कमाण्डमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० स्थित दैजी बजार नजिकै निर्माणाधीन घरको सिँडीमुनी बसी लागु औषध खैरो हेरोइनको कारोबार गरिरहेका ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका वडा नम्बर १० दैजी बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, वेदकोट नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय उमेश डगौरा र सोही ठाउँ बस्ने २० वर्षीय सुरज राना रहेका छन् ।
उनीहरुको साथबाट ४४ वटा कागजका पुडिया बनाई विक्रि गर्न तयार पारिएको लागुऔषध खैरो हेरोइन २.०८ ग्राम र सेतो प्लाष्टिकमा राखी ओसारपसार गर्न तयारी हालतमा राखिएको लागु औषध खैरो हेरोइन ६.३७ ग्राम गरी जम्मा ८.४५ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूकै साथबाट लागु औषध चरेस १.२४ ग्राम, खुकुरी चुरोट खिल्ली ६ थान, तीनओटा चुइगम, लाइटर ३ थान फेला पारी रितपूर्वक बरामद गरी थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्