तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह गोल्डकपको उपाधि आर्मीलाई

मकवानपुर । हेटौँडामा भएको तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधि नेपाल आर्मीले क्लबले हात पारेको छ ।

शनिबार हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई शून्यका विरुद्ध एक गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि कब्जा गरेको हो ।

जितसँगै नेपाल आर्मीले नगद १० लाख रुपैयाँसहित रनिङ सिल र उपविजेता मकवानपुर–११ ले नगद ५ लाख रुपैयाँ रनिङ सिल प्राप्त गरेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा आर्मीका टेक बहादुर बुढाथोकीले पहिलो हाफको ३९ औ मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बन्यो । मकवानपुर–११ ले खेलमा पाएको थुप्रै मौका सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भएको हो ।

आजको खेलमा आर्मीका टेक बहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा आयोजक मकवानपुर–११ का अमिर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगितामा आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक, दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, सेसहाङ्ग आङदाम्बे उत्कृष्ट मिडफिल्डर र आर्मीका प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक र मकवानपुर–११ का रञ्जन विष्ट उत्कृष्ट फरवार्ड घोषित हुँदै जनही नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी लाइफ टाइम एचिवमेन्ट अवार्ड पूर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ ।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा विजेता र उप–विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलगायत मकवानपुरका स्थानीय तहका प्रमुखहरूले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button