तपाईँ सुन्दै हुनुहुन्छः

२८ महिलाको निःशुल्क शल्यक्रिया

सल्यान । आर्थिक अभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका सल्यानका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

परिवार र समाजबाट अपहेलित हुने डरका कारण लुकाएर बस्दै आइरहेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाएपछि राहत महशुस गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँज तथा शल्यक्रिया शिविरमा २८ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया गरिएको छ । शिविरमा १ सय ६० बढी महिलाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

चिकित्सकका अनुसार आङ खस्ने (पाठेघर खस्ने) रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ध्यान नपुर्‍याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी बेलामा यौन सम्पर्क राख्ने लगायतका कारण महिलाले पाठेघर खस्ने समस्या भोग्दै आइरहेका छन् । खास गरेर सानो उमेरमा नै विवाह गरी आमा हुनुले पाठेघर खस्ने समस्याको शिकार हुने गरेको डा. सुवि बस्न्यातले जानकारी दिए ।

जिल्लामा अप्रेसन गरिएका महिलाहरू मध्ये ५० देखि ७५ वर्ष उमेर समूहका धेरै महिलाहरूमा पाठेघर खस्ने समस्या रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । चेतनाको कमी, लाज मान्ने प्रवृत्तिका कारण महिलाहरूले रोग पालेर बस्ने गरेको उनको भनाई छ ।

डा. बस्न्यातका अनुसार पाठेघर महिलाको प्रमुख प्रजनन अङ्ग हो । पाठेघर खस्ने तीन किसिमका छन् । पहिलो र दोस्रो चरणकोलाई रिङ लगाएर उपचार गर्न सकिने भए पनि पाठेघर खसिसकेपछि शल्यक्रिया बाहेक अर्को विकल्प छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button