सुगम बन्दै विकट : सडक निर्माणले ल्याएको खुसी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, को साइलेसाँघु खोलादेखि रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ ।
नलगाडको सबै भन्दा दुर्गम गाउँ हो रावतगाउँ । भौगोलिक विकटताले पछि परेको गाउँमा सडक निर्माण भएपछि स्थानीयहरू खुस छन् ।
भिरालो जमिन कडा चट्टान भएको ठाउँमा यत्ति छिट्टै सडक बन्ला भनेर कल्पनासमेत नगरेको ठाउँमा सडक गाउँलेहरूमा खुसीयाली छाएको स्थानीयहरू बताउँछन् । ‘घरछेउमै मोटर बाटो बनेपछि स्थानीयहरू औधी खुसी छन्’ वडा अध्यक्ष भद्र बहादुर ध्यारले भन्नुभयो । 
उहाँले सडक निर्माणसँगै बषैंदेखि यहाँका स्थानीयवासीले भोग्दै आएको पीडा अन्त्य भएको बताउनु भयो ।
यो सडक डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले बताउनु भयो । 
सडक निर्माणका लागि प्रदेश सरकारको एक करोड ४७ लाख लागतमा कड्का कृष्ण कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घन मिटर माटो कटिङ तथा १० हजार घन मिटर कडा चट्टानको भाग कटिङ गर्नु पर्ने उल्लेख छ । सडक वनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । चौखा खोलादेखि साइलेसाँघुसम्मको तीन किलोमिटर सडक निर्माण भएको छ ।

पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न तथा स्थानीयलाई आउजाउ गर्न सहज भएको स्थानीय लालबहादुर मल्लले बताउनु भयो ।
‘भौगोलिक विकटता र आर्थिक विपन्नताबाट पिरोलिएको रावतगाउँ तथा ध्यारगाउँबासी सडक जोडिए पछि परिवर्तनको अनुभूति गरिरहेका छन्’, मल्लले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्