मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चैत्र २७ गतेदेखि
मकवानपुर । मकवानपुरमा १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी चैत्र २७ गतेदेखि हेटौँडामा सञ्चालन हुने भएको छ ।
शुक्रवार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चैत्र २७, २८ र २९ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले चैत्र २१ गते भित्र जिल्लाका १० वटै स्थानीय तह स्तरीय प्रतियोगिताको छनौट सम्पन्न गराई सक्न र छनौटको प्रतिवेदन, विजेता खेलाडीको नाम जिल्ला खेलकुद विकास समितिमा उपलब्ध गराई सक्न अनुरोध गर्ने निर्णय गरेको छ । हालसम्म जिल्लाका १० मध्ये ४ वटा स्थानीय तहमा छनौट सम्पन्न भइसकेका छन् ।
हालसम्म जिल्लाको थाहा नगरपालिका, भीमफेदी, मकवानपुरगढी र ईन्द्रसरोवर गाउँपालिकाले छनौट सम्पन्न गरिसकेको र अन्य स्थानीय तहहरूले आगामी चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने प्रतिबद्धता आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल (खुसराज) ले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा निर्देशिका अनुसार पालिकामा छनौट गरिएका भलिबल, एथलेटिक्स, कबड्डी, सितिरियो कराँते, तेक्वाण्डो र उसु खेल सञ्चालन गरी विजेतालाई खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले प्रतियोगिताको खर्च विवरणसहितको प्रस्ताव तयार गरी प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्मा पेश गर्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिने निर्णय गरेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि कुल ९ लाख ८१ हजार ५५० रुपैयाँ लागत लाग्ने अनुमान गरिएको तर, जिल्लामा कुल ४ लाख मात्रै बजेट प्राप्त भएकोले समेत उहाँले बताउनुभयो ।
बैठकमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक खुलालले आवश्यक बजेटका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले प्रतियोगिता तोकिएकै मितिमा व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिनुहुँदै आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
यस अघि क्षेत्रिय रुपमा खेलाडी छनौट गरेर सदरमुकाममा फाइनल प्रतियोगिता सञ्चालन गरिँदै आएकोमा सरकारको नयाँ नियम अनुसार यस वर्षदेखि पालिका स्तरमा छनौट गरेर सदरमुकाममा फाइनल प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, शिक्षा विकास समन्वय इकाईका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेल, सुपारेटार ब्यारेकका मेजर सागर शम्सेर राना मगर, सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारी, निमित्त जिल्ला समन्वय अधिकारी भीमलाल महर्जन, शिक्षक महासङ्घ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, आधुनिक राष्ट्रिय माविका प्रअ बिरवंश बैठा, प्याबसन मकवानपुरका सचिव निविन केसीलगायत खेलकुदसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्