तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरीको सातौँ गाउँसभा सम्पन्न : दुई विधेयक पारित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सातौँ गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक गरी दुई विधेयक पारित गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा अर्धवार्षिक प्रगति प्रतिवेदन कार्यपालिका सदस्य कमला थापाले प्रस्तुत गर्नुभयो । प्रगति प्रतिवेदनमा सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रममा एक क्रेट अण्डासहित पोषिलो खानेकुरा वितरण कार्यक्रम, स्वास्थ्यकर्मीमार्फत सुत्केरी जाँच गरिएको, १० वटा सहकारी संस्थालाई रासायनिक मल बिक्रीवितरणका लागि अनुमति दिइएको उल्लेख छ ।

त्यसै गरी हालसम्म युरिया मल १ हजार ५ सय बोरा र डिएपी मल ३ सय बोरा बिक्री वितरण भइसकेको पनि प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ५ सय २५ जना सूचीकृत भइसकेको, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणाली सञ्चालनका लागि वडाहरूमा कम्प्युटर  सेट, प्रिन्टर, स्क्यानर, राउटर खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button