तपाईँ सुन्दै हुनुहुन्छः

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता खरेलले प्रधानमन्त्रीसँगको परामर्शमा स्वेच्छापूर्वक आफूले राजीनामा दिएको जानकारी दिनुभयो । उहाँले आफू पूर्ववत राजनीतिक जीवनमा फर्कनका लागि पदबाट राजीनामा दिएको स्पष्ट गर्नुभयो ।

उहाँले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बाँकी जीवन निष्ठापूर्वक राजनीतिमा लगाउने बताउनुभयो ।

पूर्व कानुन मन्त्रीसमेत रहनुभएका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button