तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य चिनाउन ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला   

काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको भ्रमणमा प्रेरित गर्ने उद्देश्यले इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला आयोजना गरिएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहयोगमा यही मार्च १३ मा आयोजित मेलामा प्रिमियर होटेल स्कुलमा अध्ययनरत विद्यार्थीले तयार गरेका स्वदेशी तथा विदेशी गरी १० भन्दा बढी खाद्य परिकारका स्टल राखिएका थिए ।
जिल्ला होटेल व्यवसायी तथा पर्यटन सङ्घ सुनसरीको आयोजना तथा प्रिमियर होटेल स्कुलको व्यवस्थापनमा सम्पन्न उक्त मेलाको प्रदेश नं १ का विभिन्न क्षेत्रबाट आएका करिब पाँच हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिबलको आयोजनाले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा प्रवाह गर्नाका साथै प्रदेश १ को संस्कृति तथा खानपिनको समेत प्रवर्द्धन गर्न ठुलो सहयोग पु¥याउने र युवा विद्यार्थीको प्रतिभा परिष्कृत गर्ने अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको संस्कृति तथा खानालाई विश्वमाझ चिनाई देशको शान बढाउन तथा पर्यटन प्रवर्द्धनका लागि नयाँ आयाम थप गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले बोर्डद्वारा आन्तरिक पर्यटन प्रवर्द्धन र विकासका लागि प्रस्तावित पहल तथा भावी योजनामा सक्रिय सहभागिता र सहयोगका लागि अपिल गर्नुभएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ ।
स्थानीय जनशक्तिको दक्षता तथा कौशलता प्रदर्शन गर्ने लक्ष्यका साथ आयोजित मेलाका संयोजक एवम् प्रिमियर होटेल स्कूलका सिइओ सुनिल भुसालले आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय जनशक्तिहरूको दक्षता तथा कौशलता प्रदर्शन गर्ने उपयुक्त माध्यमका रुपमा सो मेलाको आयोजना गरिएको बताउनुभयो ।
पाटा नेपालका कोषाध्यक्ष खेम लकाईले प्रदेश १ को दिगो पर्यटन विकास र प्रवर्द्धनका लागि राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय रुपमा स्थापित पाटा सञ्जाल र सम्बन्धमार्फत पाटा नेपाल च्याप्टरले आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेफ सन्तोष साहले काठमाडौँबाहिर यस प्रकारका पर्यटन लक्षित गतिविधि आयोजना गरिएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले सरलता, निरन्तर प्रयास, मिहिनेत, सकारात्मक स्वभाव र आत्मविश्वासका साथ सफल बन्न सकिने बताउँदै दर्शक विशेष गरी युवा हस्पिटालिटी विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू गायक सुगम पोख्रेल, गायिका एलिना चौहान, समीक्षा अधिकारी, किरण भुजेल, प्रकाश ओझा, हास्य कलाकार सुमन कोइरालालगायतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । आम मानिसलाई पूर्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले मेला स्थलमा ती गन्तव्यहरूको दृश्यसमेत प्रदर्शन गरिएको थियो ।
सुनसरीको इटहरीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित एक दिने ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग गर्नाका साथै पाटाको परिचयात्मक गोष्ठी सम्पन्न गरिएको पनि पाटाले जनाएको छ । सो मेलाको अघिल्लो दिन साँझमा नेपाल भोकेश्नल इन्स्टिच्युट अलाइन्स् (एनभिआइए) ले नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहको सम्मानमा इटहरीको ‘नेपालीरिका’ होटेलमा रात्रि भोज तथा स्वागत सम्मान कार्यक्रम गरेको थियो । सो अवसरमा पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले दिगो पर्यटन विकास र प्रवर्द्धनका लागि पाटाको भूमिका र प्राथमिकताका बारेमा जानकारी गराउनुभएको थियो ।
मेलाका अवसरमा पाटा नेपालका सिइओ बुडालसहितको पाटा सचिवालयले प्रदेश १ मा अवस्थित विभिन्न सात वटा पर्यटन तथा हस्पिटालिटी कलेजमा आबद्ध ६० भन्दा बढी शिक्षा प्रदायक र विद्यार्थीहरूमाझ पाटाको परिचयात्मक गोष्ठी आयोजना गरिएको पनि पाटाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button