तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज भन्सारद्वारा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व असुली

वीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ को फागुन महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसँगै भन्सारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो ।
अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई फागुन महिनामा १३ अर्ब ७४ करोड ६१ लाख ३० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा लक्ष्यभन्दा २ अर्ब ६४ करोड ५० लाख ३८ हजार बढी राजस्व असुली गरेको छ ।
वीरगंज भन्सारले फागुन महिनामा मात्रै १६ अर्ब ३९ करोड ११ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो ।
भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार फागुन महिनामा वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ६ अर्ब २४ करोड १७ लाख २५ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ६ अर्ब २ करोड ९६ लाख ३३ हजार राजस्व असुली भएको छ ।
त्यसै गरी अन्त शुल्क तर्फ १ अर्ब ९७ करोड २४ लाख ६७ हजार राजस्व असुली भएको छ भने पूर्वाधार कर तर्फ १ अर्ब १५ करोड २६लाख राजस्व असुली भएको छ ।
वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा १ खर्ब ४ अर्ब ८९ करोड ६० लाख ४५ हजार राजस्व असुली गरेका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनु भयो ।
कोरोनाको कारण प्रभावित राजस्व असुली पछिल्ला महिनाहरूमा भने आयात निर्यात व्यापारमा सुधार आएसँगै लक्ष्यभन्दा बढी राजस्व असुली हुन थालेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button