सडक निर्माणपछि स्थानीय हर्षित

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, को साइलेसाँघु खोलादेखि रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ ।
गाउँमा मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । नलगाडको सबैभन्दा दुर्गम गाउँ रावतगाउँ मानिन्छ । भौगोलिक विकटताले पछि परेको गाउँमा सडक निर्माण भएपछि स्थानीयमा निकै खुसी छाएको छ ।
वडा कार्यालयसम्मको सडक निर्माणको काम पुरा भएको छ । भिरालो जमिन र कडा चट्टान भएको ठाउँमा सडक कहिले बन्छ भन्ने कल्पना समेत स्थानीयले गरेका थिएनन् । घरछेउमै मोटर बाटो बनेपछि स्थानीय निकै खुसी भएका छन् । वडा अध्यक्ष भद्रबहादुर ध्यारले सडक पुगेपछि सदिऔं देखि स्थानीयवासीले भोग्दै आएको पिडा अन्य भएको बताउनुभयो ।

यो सडक डोल्पाको मुड्केचुला गाउँपालिका जोड्ने भएकाले निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालेको भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीन कार्कीले बताउनु भयो ।
प्रदेश सरकारको १ करोड ४७ लाख लागतमा कड्का कृष्ण कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घन मीटर माटो कटिङ तथा १० हजार घन मिटर कडा चट्टानको भाग कटिङ गर्नु पर्ने उल्लेख छ ।
सडक वनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । चौखा खोला देखि साइलेसाँघुसम्मको तीन किलोमिटर सडक निर्माण भएपछि गाउँसम्मको तीन किलोमिटर सडक निर्माण भएको हो ।

पहिले दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न घोडा खच्चडको प्रयोग हुन्थ्यो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न तथा स्थानीयलाई आउजाउ गर्न सहज भएको स्थानीय लालबहादुर मल्लले बताउनुभयो ।
भौगोलिक विकटता र आर्थिक विपन्नताबाट पिरोलिएको रावतगाउँ तथा ध्यारगाउँबासी सडक जोडिए पछि परिवर्तनको अनुभूति गरेका मल्लले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्