तपाईँ सुन्दै हुनुहुन्छः

सरकार  र विश्व बैंकबीच २ अर्ब ८० करोड बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

काठमाडौँ ।  नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैँया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ ।
आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्‍याउने अर्थ मन्त्रालय र विश्व बैकको भनाइ छ ।
सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको थियो।
यस आयोजनाले ५० वटा  स्थानीय तहलाई सहयोग पुर्‍याउनेछ ।
अर्थ सचिव ढुङ्गानाले आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने बताउनुभयो ।
सो अवसरमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमति पत्रमा समेत हस्ताक्षर भएको थियो ।
आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैङ्कले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button