तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका सेवानिवृत्त ४४ जना कर्मचारीलाई बिदाइ सम्मान


काठमाडौँ। रेडियो नेपालले विभिन्न समयमा सेवा निवृत्त हुनुभएका ४४ जना कर्मचारीलाई बिदाइ सम्मान गरेको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरवारमा आज आयोजना गरिएको कार्यक्रममा २०७३ सालदेखि २०७७ साल फागुन महिनासम्म अनिवार्य अवकास हुनुभएका कर्मचारीलाई बिदाइ सम्मान गरिएको हो ।


कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सेवा निवृत्त हुनुभएका कर्मचारीले सिकाउनुभएका ज्ञान, सीप र व्यवहारलाई संस्थामा लागु गर्दै अगाडि बढन प्रतिबद्ध रहेको बताउनुभयो ।


कार्यकारी निर्देशक केसीले पेन्सन कोष स्थापनाका लागि कर्मचारी सेवा सर्त नियमावलीको संशोधन अन्तिम चरणमा पुगेकोले निवृत्त कर्मचारीको पेन्सन सुनिश्चिततामा त्यसबाट सहयोग पुग्ने जानकारी दिनुभयो ।


कार्यक्रममा नायव कार्यकारी निर्देशक कृष्ण कोइराला र कर्मचारी संघ संगठनका तर्फबाट नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुँयालले सेवानिवृत्त जीवनलाई सक्रिय र सिर्जनशिल बनाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा सेवा निवृत्त हुनुभएका रेडियो नेपालका पूर्व वरिष्ठ समाचार सम्पादक माधव घिमिरे र पूर्व प्रशासन निर्देशक सूर्य तण्डुकारले आ–आफ्ना अनुभव राख्नुभएको थियो ।विदाई कार्यक्रममा ५८ वर्ष पुरा भई अनिवार्य अवकास हुनुभएका ४४ जना कर्मचारीमध्ये उपत्यकामा रहनुभएका १७ जनाको उपस्थिति रहेको थियो ।

उहाँहरुलाई माला, कदरपत्र र मायाँको चिनो वितरण गरिएको थियो भने उपत्यका बाहिर रहेका सेवा निबृत कर्मचारीलाई सम्बन्धित प्रादेशिक कार्यालयबाट सम्मान उपलब्ध गराईने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button