तपाईँ सुन्दै हुनुहुन्छः

तेल दलिने झोलुङ्गे पुल

संरक्षणको पर्खाईमा रहेको झोलुङ्गे पुल

दोलखा । झोलुङ्गे पुलमा हरेक बर्ष तेल दल्ने चलन थियो भन्ने सुन्दा अहिलेको पुस्तालाई पक्कै आश्चर्य लाग्छ । तर दोलखाको जामुनेमा रहेको एउटा झोलुङ्गे पुलको इतिहास यस्तै छ ।

झण्डै २० बर्ष अघिसम्म दोलखाको उत्तरी भेगका आधादर्जन गाविसका मानिसको प्रमुख मार्ग बनेको खारे र बुलुङ (हालको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिका) जोड्ने यो झोलुङ्गे पुल २००३ सालमा निर्माण गरिएको हो ।

पुलको एक्ला रखवाला बलबहादुर

मानिसलाई आवत जाओत गर्न समस्या भएपछि समाजसेवी स्वर्गीय प्रयागराज पण्डितले २००३ सालमा रामेछाप ठोसे मेक्चनको फलाम खानीबाट काँचो फलाम ल्याई व्यक्तिगत लगानीमा पुल निर्माण गरेको स्थानीय ७५ वर्षीय ज्येष्ठ नागरिक बलबहादुर खड्काले बताउनुभयो । जामुनेमै आरन बनाई स्थानीय मजदुरको प्रयोगमा ठोसे मेक्चनको खानीबाट ल्याइएको काँचो फलामबाट साङ्ली बनाई पुल निर्माण गरिएको इतिहास आफूले सुनेको बलबहादुर बताउनुहुन्छ ।

२००३ सालमा झोलुङ्गे पुल निर्माण भए पछि फलाममा खिया लाग्न नदिन समाजसेवी प्रयागराज पण्डितकै लगानीमा हरेक बर्ष तेल दल्ने गरिएको र यो क्रम पण्डित जीवित हुँदासम्म कायम रहेको बलबहादुरले बताउनुभयो । स्वर्गीय प्रयागराज पण्डितले पुलको संरक्षण र हरेक बर्ष तेल दल्न आफ्नो जग्गामा निजी गुठी समेत बनाउनुभएको थियो । आफु त्यही निजी गुठीको जग्गा कमाउने क्रममा २०२७ सालमा जामुने आएको पनि बलबहादुरले बताउनुभयो ।

समाजसेवी पण्डितले विभिन्न ठाउँबाट मानिसलाई ल्याएर आफ्नो जग्गामा निजी गुटी बनाई राखेको र त्यसको आम्दानीबाट पुलको संरक्षण तथा प्रत्येक बर्ष तेल दल्ने गरेको स्थानीयको भनाई छ । तर २०२७÷२०२८ सालतिर उनको मृत्यु पछि तेल दल्ने काम बन्द भएको स्थानीय ज्येष्ठ नागरिक बलबहादुरले बताउनुभयो ।

विगत ५० वर्षदेखि जामुनेमा रहेको ऐतिहासिक झोलुङ्गे पुलको एक्लो रखवाला बनेका बलबहादुर अहिलेको पुस्ताको लागि किंवदन्ती झैँ बनेको पुलको संरक्षण आवश्यक रहेको बताउनुहुन्छ । २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतले मर्मतमा सहयोग गरेपनि त्यस यता पुलको संरक्षणमा कसैले चासो नदिएको स्थानीयको भनाई छ । अहिले पनि मानिसलाई छोटोबाटो हिँड्न र अध्यताहरुलाई ठोसेमेक्चनको फलामखानिको जानकारी लिन झोलुङ्गे पुल महत्वपूर्ण हुने भएकोले गाउँपालिका र सङ्घीय सरकारले समेत संरक्षणमा चासो दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button