स्थानीय तह सहिद स्मृति गोल्ड कप : आर्मी फाइनलमा प्रवेश

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्ड कप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा –१० बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई ०–१ गेल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मीका तर्फबाट जर्सी नम्बर ११ का खेलाडी आशिस शाक्यले खेलको दोस्रो हाफको २३ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २७ का खेलाडी टेक बहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित हुनुभएको छ । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको उपाधिका लागि चैत्र ७ गते शनिबार विभागीय टोली त्रिभुवन आर्मीले घरेलु टोली रिगल हेटौँडा रिपोर्ट मकवानपुर –११ सँग प्रतिस्पर्धा गर्नेछ ।

३ वटा विभागीय, ३ वटा ए डिभिजन क्लब, एक विदेशी, दुई मोफसलका र आयोजक गरी १० टोलीहरूको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख, उपविजेताले ५ लाख प्राप्त गर्नेछन् भने र सर्वोत्कृष्ट खेलाडीले रोयल एन्फिल्ड मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीय तहले प्रायोजन गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्