तपाईँ सुन्दै हुनुहुन्छः

जस्तोसुकै जटिल समस्या वार्ता र संवादबाट समाधान गर्ने नेपालको मान्यता : मन्त्री ज्ञवाली

काठमाडौँ। परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जस्तोसुकै जटिल समस्या पनि वार्ता र संवादबाट समाधान हुने मान्यता नेपालले अवलम्बन गरेको बताउनु भएको छ ।

इजरायली राजदूतावासले आज काठमाडौँमा आयोजना गरेको नेपाल इजरायल बीचको द्वौत्य सम्बन्ध सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपाल र इजरायलबीच दुई पक्षीय एवं बहु पक्षीय सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

उहाँले नेपाल–इजरायलबीच विज्ञान, कृषि, शिक्षा, र प्रविधि हस्तान्तरण सम्बन्धी विभिन्न विषयमा दुई पक्ष सम्झौता भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले इजरायली कृषि प्रविधि हस्तान्तरण बाट नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त  गर्नुभयो ।
सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै इजरायलका लागि नेपालका राजदूत अन्जान शाक्यले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र इजरायल बिच भएको जीटुजी केयरगिभर सम्बन्धी श्रम सम्झौताको स्मरण गर्नुहुँदै राजदूत शाक्यले आगामी दिनमा पनि पर्यटन र निमार्ण क्षेत्रहरूमा नेपाली श्रमिकहरूलाई रोजगारीको अवसर प्राप्त हुने बताउनुभयो ।

राजदूत शाक्यले इजरायलले पूर्व हेर नीति अन्तर्गत नेपाललाई थप सहयोग र सहायता गर्ने जानकारी दिनुभयो ।

सो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि इजरायलका राजदूत खनान गोदारले नेपाल र इजरायलबीच रहेको दुई पक्षीय सम्बन्ध संयुक्त राष्ट्र सङ्घ लगायतका अन्तर्राष्ट्रिय सभा सम्मेलन र मञ्चहरूमा पनि झल्कनुपर्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा नेपालले इजरायललाई राष्ट्रसङ्घको महासभामा हुने मतदानहरूमा समर्थन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button