भारतीय नक्कली पेय पदार्थसहित एक जना पक्राउ
वीरगञ्ज । होली पर्व भित्रिने क्रमसङै वीरगन्जमा भारतीय नक्कली चिसो पेय पदार्थ माजा, कोक, फेन्टा, स्प्राईट लगायतको बिगबिगी बढ्दै गएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
नक्कली पेय पदार्थ कोक, फेन्टा, स्प्राईट माजा लगायतका बस्तु नियन्त्रणमा लिने अभियान प्रहरीले आजबाट शुरु गरेपछि वीरगन्जका केही व्यापारीहरू पसल बन्द गरेर फरार भएका छन् ।
यसैबिच जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले बजार अनुगमन गर्ने क्रममा भारतबाट भन्सार छली चोरी तस्करी गरी ल्याइएको चिसो पेयजन्य र अन्य चकलेट लगायतका किराना सामान समेत गरी एक लाख अन्ठाउन हजार सात सय रुपैयाँ भन्दा बढीको सामानसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २५ निवासी ३६ वर्षीय रामबाबु कुमार पटेललाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सामानसहित पटेललाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
चाडबाडको बेला आम उपभोक्तालाई व्यापारीहरूले भारतबाट भित्रिने गुणस्तरहीन पेय पदार्थ विक्री वितरण गरी कालोबजारी गर्ने गरेको जानकारी प्राप्त हुनासाथ बजार अनुगमनलाई तीव्रता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्