सडक निर्माणमा ढिलासुस्ती विरुद्ध एक रुपैयाँ सहयोग अभियान
दोलखा । खाडिचौर–चरिकोट सडक स्तर उन्नतिको काम सम्झौता भएको पाँच वर्षको अवधिमा पनि सम्पन्न नगरेको भन्दै दोलखाका नागरिक अगुवाहरूले बजारमा १–१ रुपैयाँ सङ्कलन गरी निर्माण कम्पनीलाई पठाएका छन् ।
बुधवार चरिकोट बजारमा १–१ रुपैयाँको दरले सङ्कलन गरिएको सात सय चार रुपैयाँ आयोजना प्रमुख दीप वाराही मार्फत सडक निर्माणको जिम्मेवारी पाएको शङ्कर माली निर्माण कम्पनीलाई पठाइएको खाडिचौर चरिकोट सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्धको सङ्घर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए ।
पाँच वर्षको अवधिमा निर्माण कम्पनीका सञ्चालकको फोटो सार्वजनिक यातायातको साधनहरूमा टाँस्ने, शङ्ख जुलुस, साङ्ली जुलुस, कोण सभा गर्ने, सडक कार्यालयमा तथा आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने लगायतका विरोध कार्यक्रम गरिएको भए पनि त्यसको सुनुवाई नभएकोले अब निर्णायक आन्दोलन गरिने सङ्घर्ष समितिका सचिव गोकर्ण भण्डारीले बताए ।
आयोजनाका प्रमुख दीप वाराहीले अहिलेको निर्माण कम्पनीले काम गर्ने अवस्था नदेखिएको उल्लेख गर्दै आगामी शनिवारसम्म पनि काम गर्ने अवस्था नबने आइतबार सम्झौता रद्दको लागि सूचना निकालिने र नयाँ ढङ्गले अगाडि बढिने बताए ।








प्रतिक्रिया राख्नुहोस्