हात्तीको आक्रमणमा घाइते बनेका एक युवकको मृत्यु
भद्रपुर, झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते बनेका युवकको उपचारकै क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी बुद्ध शान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएका थिए । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो ।
विर्तासिटीले अस्पतालमा उपचार सम्भव नहुने भन्दै भद्रपुरस्थित मेची अस्पतालमा उनलाई रिफर गरेको थियो । मेची अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको बताइएको छ ।
उनीहरू दुवै ट्याक्टर मजदुर हुन् ।








प्रतिक्रिया राख्नुहोस्