दुई दिन भित्र सवारी आवागमन सहितको सीमा नाका खुल्छ : उपप्रधानमन्त्री पोखरेल

बीरगंज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिन भित्र सवारी आवागमन सहितको सीमा नाका खुल्ने बताउनु भएको छ ।
सीमा नाका पूर्णरुपमा खोल्न माग गर्दै बीरगंजबाट गएको पर्यटन तथा होटल व्यवसायीहरूले आज बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री एवं उच्च स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलले नेपाल तथा भारतसँग सीमा जोडिएका नाकाहरू भोलिबाट पूर्ण रुपमा खोल्ने तयारीमा सरकार जुटेको बताउनुभयो ।
उहाँले बिहीबार अपराह्न ४ बजेको उच्च स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नाका खोल्ने निर्णय गर्ने समेत आश्वासन समेत दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले नेपाल–भारत बीचको सीमा नाका खुल्छ, दुवै देशको पारस्परिक विषय हेरेर निर्णय गरिने बताउनुहुँदै नाका नखुल्दा होटल पर्यटन तथा आयात निर्यात व्यापारमा परेको असुविधाको बारेमा सरकार जानकार रहेको बताउनुभयो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि २०७६ चैत ११ गतेदेखि सरकारले बीरगंज लगायतका सीमा नाका बन्द गरेको थियो । नाका बन्द भएपछि ढुवानीका सवारी साधन बाहेक यात्रुवाहक यातायातका सवारी साधन आवत जावतमा बन्देज लगाइएको छ ।
कोभिड संक्रमण कम भएपछि सीमा नाकाबाट यात्रु आवतजावत भए पनि वैधानिक रुपमा यात्रुवाहक सवारी साधन सञ्चालनमा नआउँदा भारतीय पर्यटकहरू सहज रुपमा नेपाल आवतजावत गर्न सकिरहेका छैनन् ।

यसै गरी वीरगंजबाट गएको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसँग पनि भेटघाट गरेको छ ।
मन्त्री ढकाल सँगको भेटघाटमा एक वर्षदेखि सीमा नाका बन्द हुँदा बीरगंजको होटल तथा पर्यटन व्यवसाय सङ्कटमा परेको हुँदा तत्काल सीमा नाका सुचारु गरी होटल तथा पर्यटन व्यवसायलाई पुर्नजिवन दिन माग गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।
सीमा नाका बन्द हुँदा भारतसँग सिमा जोडिएको बीरगंज लगायत देशै भरका होटल तथा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेको सौराहा, पोखरा, काठमाडौँ, लुम्बिनी, जनकपुर लगायत क्षेत्रमा भारतीय पर्यटकहरूको आवागमन घटेको व्यवसायीहरूले गुनासो गरेका थिए ।
नेपालको पर्यटन तथा होटल व्यवसायमा भारतीय पर्यटकहरूको ठुलो हिस्सा रहेको छ ।
बीरगंजबाट ज्ञापन पत्र बुझाउन काठमाडौँ पुगेको टोलीमा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्त, महासचिव माधव बस्नेत, पर्यटन पत्रकार सङ्घ पर्साका सदस्य रितेश त्रिपाठी, राधेश्याम पटेल, एमाले पर्साका नेता सुन्दर कुर्मी, शिवजी गुप्ता लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्