बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध सङ्ग्रहालय

रुपन्देही । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र संस्कृति सहर पुरानो बुटवल (बटौली)लाई जोड्ने गरी सङ्ग्रहालय निर्माण सुरु भएको छ ।
यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्त्वपूर्ण संरचना हो ।
जितगढी (बटौली) युद्ध सङ्ग्रहालयका नाममा निर्माण हुने उक्त महत्त्वपूर्ण संरचनाको आज एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त सङ्ग्रहालयको शिलान्यास गर्नुभएको हो ।
राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिँदै सोही अन्तर्गतको एउटा कामका रुपमा सङ्ग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो ।
प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरूलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उहाँले बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा सङ्ग्रहालय रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्त्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त सङ्ग्रहालय बन्नेछ । सङ्ग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरू राखिएको शोभिनियर सप रहने छ ।
करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरूलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत् बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको सङ्ग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमा देवी आचार्यले बताउनुभयो ।
शिलान्यास समारोहमा सहभागी नेपाली काँग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी लगायतले निर्माण कार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रशंसा गर्नुभयो ।
निर्माण कम्पनी शिव शक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्ने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माण कार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै निर्माण कम्पनीको प्रतिबद्धताको सराहना गर्नुभयो ।
वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माण कार्य सक्ने प्रतिवद्धताले आफूहरूलाई खुसी लागेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्