तपाईँ सुन्दै हुनुहुन्छः

नगरको भवन बनाउन निशुल्क जग्गा दान

बागलुङ। बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएका छन् । नगरपालिकाको वडा नंम्वर १ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयले निशुल्क दिएका हुन् ।

जैमिनी नगरपालिका वडा नम्वर १ कुश्मीशेरामा रहेको १८ रोपनी जग्गालाई एकिकृत गरेर १४ जना जग्गा दाताहरुले नगरपालिकाको नाममा पाँच रोपनी जग्गा पास गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो ।बाँकी जग्गामा सडक, खानेपानी र विद्युतलगायतका संरचना निर्माण गरेर जग्गादाताहरुले फिर्ता लिनेछन् । त्यस्तै वडा नम्वर २ मा श्रमलाल कँडेलको नाममा रहेको ४ रोपनी ४ आना जग्गा नगरपालिकालाई निशुल्क उपलव्ध गराईएको छ ।

१५ जनाको नाममा रहेको करोडौं मुल्य बराबरको टुक्रे जमिनलाई एकीकृत गर्दै आठ रोपनी जग्गा नगरपालिकाले पाएको हो । मंगलबार नगर प्रमुख, उपप्रमुख लगायतको रोहवरमा उक्त जग्गा नगरपालिकाको नाममा नामसारी गरिएको छ ।कुश्मीशेराका लक्ष्मीप्रसाद सापकोटा, टंक सापकोटा, नेत्रप्रसाद शर्मा, कृष्णप्रसाद शर्मा, मन कुमारी पाध्या, योगेश्वर पाध्या, शालिग्राम जैसी, लिलानाथ पौडेल लोकनाथ सापकोटा, गोपाल पाध्या दिनानाथ जैशी, भगिरथी अँखेली, यमप्रसाद शर्मा, देवीप्रसाद सापकोटा र झुपीदेवीले जग्गा निशुल्क उपलव्ध गराएको जग्गादाता योगेश्वर पाध्याले बताउनुभयो ।

टुक्रा टुक्रामा रहेको जग्गालाई एकिकृत गरेर पाँच रोपनी नगरको नाममा राखेपछि बाँकी जमिन दाताकै लागि प्लटिङ गरेर दिने नगरप्रमुख पौडेलको भनाई छ । जग्गा अभावमा बजेट बिनियोजन भएपनि नगरको भवन बन्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button