सङ्कटालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आजको खेलमा लिग विजेता मछिन्द्र क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । हेटौँडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा भएको निकै नै रोमाञ्चक खेलमा मछिन्द्रले सङ्कटालाई ०-१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मछिन्द्र क्लबका राजेश परियारले खेलको २५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दी म्याच मछिन्द्रका राजेश परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे । मछिन्द्रले सेमिफाइनलमा बुधवार साबिक विजेता मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
जिल्ला फुटबल सङ्घ मकवानपुरको आयोजना तथा स्थानीय तहहरूको प्रायोजनमा भएको प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्बोत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक हात पार्नेछन् । भने, विधागत उत्कृष्ट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने छ ।








प्रतिक्रिया राख्नुहोस्