तपाईँ सुन्दै हुनुहुन्छः

सेती नदीबाट पानी तानेर तरकारी खेती 

बझाङ । बझाङको तलकोट गाउँपालिका–१ भाँटगाउँमा जेनेरेटरबाट पानी तानेर तरकारी खेती गर्न पाएपछि कृषकमा खुशीयाली छाएको छ । भाँडसैनका स्थानीयवासी जेनेरेटरबाट पानी तान्ने प्रविधि प्रयोग गर्न पाएपछि तरकारी खेतीमा हौसिएका छन् । पानीको अभावमा वर्षौँदेखि बाँझो र सुख्खा रहेका जमिनमा अहिले तरकारी र फलफूलका बोटबिरुवाहरू लगाएका छन् ।

कृषि ज्ञान केन्द्र बझाङले पानी तान्ने जेनेरेटरको व्यवस्था गरिदिएपछि गाउँलेले तरकारी खेतीका लागि सहजरुपमा पानी पाएका हुन् । सेती नदिमा बगेको पानीलाई जेनेरेटर चलाएर पाइपमार्फत  खेतमा सिँचाई गर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्र बझाङले भाँडसैनमा सिँचाई तथा पानीको अभावमा गहुँ वाली सुकेको थाहा पाएपछि जेनेरेटरको माध्यमाबाट सेती नदीको पानी तानेर सिँचाई गर्ने वातावरण मिलाई दिएपछि स्थानीयहरू खुसी भएका छन् ।

लगाएको बाली सुकेर सक्कियो सिँचाई नभएर भोकमरी हुन्छ की भन्ने चिन्ता लागेको थियो । जे होस कृषि ज्ञान केन्द्रले हामीलाई तरकारी तथा फलफूलको बिउँ र सिँचाई गर्नको लागी पानी तान्ने मोटरको व्यवस्था गरिदिएपछि अहिले फलफूल तथा तरकारी बेचेर पनि जिविकोपार्जन गर्न सक्छौ भन्ने आट आएको कृषक खडक कुँवरले बताउनुभयो ।

गाउँपालिकाले धार्मिक एवंम पर्यटकीय स्थल तपोवन सम्म जानको लागि सडक कटान गरेपछि भत्किएको नहर करिब ३ बर्ष सम्म कसैले बनाउन तथा पुनर्निर्माणमा चासो नदिदा गाउँको करिब २८ हेक्टर क्षेत्रफल रहेको खेतीयोग्य जमिनमा बर्ष भरी एउटै खेतिमात्र लगाउने गरेको भुमिदेव कृषि समूहका अध्यक्ष धनलक्ष्मी कुँवरले बताउनुभयो । साथै कुँवरले आफ्नै जमिनको तलबाट बगिरहने सेति नदी सधैँ बगिरहे पनि आफूहरूले हेरेर चित बुझाउनु बाहेक अरु विकल्प नरहेको र हाल कृषि ज्ञान केन्द्रले सेती नदी बाटै पानी तानेर तरकारी खेतीको लागी प्रोत्साहन गरेपछि खुशी लागेको बताउनु भयो ।

भाँडगाउँ बासीहरूलाई कृषि ज्ञान केन्द्रबाट २० हजार फलफूल तथा तरकारीका बोटबिरुवा निःशुल्क उपलब्ध गराएको र अझै आवश्यकता अनुसार बिरुवाहरू दिइने कृर्षि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताउनु भयो । साथै विष्टले सिँचाई गर्नको लागी रिजर्भ ट्याङ्की , ३ ठाउँमा हजार लिटरको ड्रम र २५ ओटा बोटबिरुवामा पानी हाल्नको लागी सहज होस भन्ने उद्देश्यले हजारी समेत दिइने तरकारी तथा फलफूल उत्पादन गरिसकेपछि एउटा सङ्कलन केन्द्र स्थापना गरिदिने तरकारी खेती र फलफूल खेतीबाट स्वास्थ्य अवस्थामा, जिविकोपार्जन तथा आर्थिक र पोषणमा पनि सुधार हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button