तपाईँ सुन्दै हुनुहुन्छः

चेम्बर अफ कर्मश ७० औँ वर्षमा प्रवेश 

काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा पहिला स्थापना भएको नेपालको व्यापार र व्यवसाय क्षेत्रको जेठो संस्था नेपाल चेम्बर अफ कर्मश आजदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ ।

यसै सन्दर्भमा नेपाल चेम्बर अफ कर्मशले चेम्बरका संस्थापक, पूर्व र निवर्तमान एवं वर्तमान अध्यक्षहरूलाई सम्मान तथा कदर प्रदान गरेको छ ।

७० औ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल चेम्बर अफ कर्मशले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको वार्षिकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले चेम्बरका दिवङ्गत ११ जना अध्यक्षका सन्तति प्रतिनिधि, पूर्व, निवर्तमान एवं वर्तमान गरी १५ जना अध्यक्षहरूलाई सम्मान तथा कदर प्रदान गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास र सम्वृद्धिको लागि सरकारले अघि सारेको संवृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चेम्बर जस्ता संस्थाहरूले नेपाली मूल्य र मान्यताहरूलाई आत्मसाथ गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गर्दै आएको र त्यसबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विभिन्न प्रदशर्नीहरुको आयोजना गर्नुका साथै व्यवसायको प्रवर्द्धन गर्न र उद्योगीहरूको व्यावसायिक क्षमता विकास गर्न समेत चेम्बरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

सार्वजनिक, निजी र सहकारी र सामुदायिक क्षेत्रको सहभागितामा आर्थिक गतिविधिहरू सञ्चालन गर्दे अघि बढेमा मुलुकको आर्थिक विकासले तीव्रता पाउने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक पर्यटनको लागि आवश्यक वस्तुहरूको उत्पादनमा जोड दिन पनि उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले बजेट निर्माणको काम अघि बढाएकोले निजी क्षेत्रका समस्याहरूका बारेमा यस क्रममा छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सार्वजनिक, निजी र सहकारी क्षेत्रबिच घनिष्ठ सम्बन्ध भए मात्र मुलुकलाई समृद्धि तर्फ अघि बढाउन सकिने उल्लेख गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न र त्यस क्षेत्रका समस्याहरू समाधान गर्न सधैँ तत्पर हुँदै आएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले जनताको क्रय शक्ति बढाउने, आर्थिक वृद्धि गर्ने राजस्व असुली वृद्धि तथा रोजगारी केन्द्रित भएर आगामी बजेट ल्याउन अर्थ मन्त्रीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button